लन्डन, भाद्र १८ – नेपालमा कानुन व्यवसायको अधिकार पाएकाले अब बेलायतमा समेत वकालत गर्न पाउने भएका छन् । बेलायत नेपाल जस्तो विकासोन्मुख राष्ट्रलाई वकालत गर्न बल्ल कानुनी मान्यता दिएको ‘सोलिसिटर रेगुलेसन अथोरिटी’ ले जनाएको छ ।

नेपालसहित अब एसियाबाट ‘क्वालिफाइड लयर्स ट्रान्सफर टेस्ट’ परीक्षामा सामेल हुन हङकङ, जापान, मलेसिया, सिंगापुर र चीनका कानुन व्यवसायीले मान्यता पाउने छन् । यो सूचीमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका कानुन व्यवसायी भने परेका छैनन् । विशेष गरी सम्पत्तिसम्बन्धी, देवानी, आचारसंहिता, लेखासम्बन्धी र कमन ल सम्बन्धी कानुनको परीक्षामा उत्तीर्णपश्चात् सीधै सोलिसिटर हुने प्रावधान छ ।

बेलायतमा कार्यरत नेपाली कानुन व्यवसायीको संगठन ‘बि्रटेन नेपाल लयर्स एसोसिएसन’ ले बेलायतको ल सोसाइटी र सोलिसिटर रेगुलेसन अथोरिटीसँग समन्वय राखी नेपालीलाई समेत अन्य राष्ट्रका कानुन व्यवसायीसरह मान्यता दिन पहल गर्दै आएको थियो । विशेष गरी एसोसिएसनका अध्यक्ष सोलिसिटर राजु थापा, संरक्षक प्राध्यापक सूर्य सुवेदी, उपाध्यक्ष देवेन्द्र श्रेष्ठ र महासचिव योगप्रसाद उपाध्यायको संयुक्त पहलमा नेपाललाई पनि अन्य राष्ट्रसरह ‘क्वालिफाइड लयर्स ट्रान्सफर टेस्ट’ को परीक्षामा समावेश गराउन निवेदन दिइएको थियो ।

‘यो हाम्रा लागि सुखद समाचार हो, यसले बेलायतमा अन्य नेपाली कानुन व्यवसायीलाई समेत सोलिसिटर बन्न ढोका खोलिदिएको छ,’ एसोसिएसन अध्यक्ष थापाले कान्तिपुरसँग भने, ‘यसबाट नेपाल राष्ट्रले समेत स्वणर्ीम अध्याय थपेको छ ।’

उनले बेलायतमा नेपालका कानुन व्यवसायीलाई अध्ययन गरी सोलिसिटर बन्न कम्तीमा ५ वर्ष र करिब ३० हजार पाउन्ड जुटाउन लाग्ने झन्झट पनि अब हट्ने बताए ।

एसोसिएसनका संरक्षक अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक सुवेदीले नेपाली कानुन व्यवसायीले बेलायतजस्तो विकसित मुलुकमा आएर ‘क्वालिफाइड लयर्स ट्रान्सफर टेस्ट’ दिन पाउनु ठूलो उपलब्धि भएको बताए । बेलायतमा एक लाख हाराहारी नेपाली भए पनि अहिले एकमात्र सोलिसिटर राजु थापा कार्यरत छन् ।

http://www.ekantipur.com/np/2067/5/18/full-news/317261/