बाल्टिमोरमा निःशुल्क कानुनी परामर्श
जनवरी २४ आइतवार

बाल्टिमोर,अमेरिका । बाल्टिमोर एशोसियसन अफ नेपलिज इन् अमेरिका (बाना) ले स्थानीय नेपाली समुदायलाई लक्षित गरी यहाँ निःशुल्क कानुनी परामर्श कार्यक्रम सम्पन्न गरेको छ। आप्रवासीहरुले पाउन सक्ने कानुनी सुविधा र उपचारका बारेमा जानकारी दिइएको उक्त कार्यक्रममा स्थानीय नेपाली एर्टर्नी पुजा रेग्मी र उनकी सहकर्मी लरिन पार्कले अमेरिकाको वर्तमान अध्यागमन कानुनमा रहेका विषयहरुका बारेमा प्रकाश पार्नु भएको थियो। रोडरिगेज स्टेलमाक पार्क एण्ड रेग्मी अध्यागमन कानुनी परामर्शका एर्टर्नी रेग्मी र पार्कले अमेरिकी राष्ट्रपति बाराक ओबामाले आप्रवासीहरुको बारेमा तयार गर्न छलफलमा रहेको आप्रवाससम्बन्धी बृहत् कानुनी मस्यौदाका बारेमा पनि चर्चा गर्नुभएको थियो।

आइतवार बाल्टिमोरमा आयोजित कार्यक्रममा आप्रवासीहरुले अमेरिकामा स्थायी बसोबासका लागि पाउन सक्ने कानुनी उपायहरुका बारेमा प्रकाश पार्दै एर्टर्नी रेग्मीले सुझावको रुपमा तथ्य जानकारी नभई कानुनी प्रक्रियामा प्रवेश नगर्न आग्रह गरिन्। कार्यक्रममा विशेषगरी शरणार्थी आवेदन गर्ने उपाय र कानुनी व्यवस्था, विद्यार्थी तथा कामदार भिसा,अस्थायी कामका लागि अनुमति भिसा,विवाह तथा रोजगार भिसा,अमेरिका बाहिर रहेका आफ्ना परिवारका सदस्यहरुलाई स्पोन्सर गर्ने भिसा, अमेरिकी नागरिकता लिने प्रक्रिया र विद्यमान आप्रवास सम्बन्धी कानुनमा रहेका अन्य विषयहरुका बारेमा विस्तृत व्याख्यासहित जानकारी दिइएको थियो। यसैगरी सहभागीहरुले पनि आप्रवास कानुनमा रहेका विषयहरुका बारेमा एर्टर्नीहरुसँग निःशुल्क परामर्श लिएका थिए।

कार्यक्रममा एर्टर्नी रेग्मीले सहकर्मी लरिनसँग नेपाली आप्रवासीहरुले चासो राख्ने कानुनी विषयका बारे जानकारी दिदैं आफूहरुले गरेको अध्ययनमा शरणार्थी कोटाबाट आवेदन दिने नेपालीहरुको प्रतिशत ज्यादा रहेको तथ्यांक समेत दिएकी थिइन्। उनका अनुसार, सन् २००८ को अध्यागमन तथ्यांक अनुसार अमेरिकामा कानुनी बसोबासका लागि शरणार्थीको रुपमा आवेदन गर्ने मुलुकहरुको सूचीमा नेपाल पहिलो १० देशहरुमध्ये एक पर्दछ। सन् २००८ मा ३५० जना नेपालीहरुले आप्रवास कानुन अर्न्तर्गत शरणार्थी कोटामा कानुनी बसोबासको अनुमति पाएका थिए। तर सोही वर्ष ४४३ जना नेपालीहरुलाई चाँहि शरणार्थी बसोबासको अनुमति नदिई आफ्नै देश फिर्ता (डिपोर्ट ) गरिएको थियो। अमेरिकामा प्रत्येक वर्ष ७० हजार आप्रवासीहरुले शरणार्थी कोटामा कानुनीरुपमा स्थायी बसोवासका लागि  आवेदन दिन्छन् जसमध्ये करीब ३० प्रतिशतको मात्र आवेदन स्वीकृत हुन्छ भने ७० प्रतिशत अस्वीकृत। एर्टर्नी रेग्मीका अनुसार प्रक्रिया नबुझी गरिने आबेदन अस्वीकृत हुने सम्भावना बढी हुन्छ।

कार्यक्रमको दोश्रो चरणमा नेपाली सीपीए हरि शर्माले व्यक्तिगत तथा व्यवसायिक आयकर तिर्ने प्रक्रिया र करको महत्वमाथि प्रकाश पार्नुभएको थियो। करीब २० वर्षपहिलेदेखि एकाउण्ट सम्बन्धी कार्य गर्दै आइरहनु भएका उहाँले आफ्नो तर्फाट नेपाली समुदायका सदस्यहरुलाई सहयोग प्रदान गर्न आफू सधैं तत्पर रहेको भन्दै अहिले कर फायल कसरी गर्ने भन्ने बारेमा निःशुल्क परामर्शका लागि सर्म्पर्क गर्न आग्रह समेत गर्नुभएको थियो।

कार्यक्रममा एर्टर्नी रेग्मी तथा लरिन र सीपीए शर्माले आफूहरु नेपाली समुदायलाई सहयोग पुग्ने कार्यका लागि तयार रहेको भन्दै बानासँग समन्वय गरेर समुदायका सदस्यहरुलाई सेवा प्रदान गर्न इच्छुक रहेको धारणा व्यक्त गरेका थिए। सोही अवसरमा सहभागी तथा परामर्शदातासहित सबैलाई धन्यवाद दिदैं आयोजक संस्थाकी अध्यक्ष रबिना थापाले समुदायको हितका लागि आफूहरु क्रियाशील रहेको भन्दै भविश्यमा पनि यस्तै अन्य कार्यक्रमहरु गर्दै जाने जानकारी दिएकी थिइन्। अध्यक्ष थापाले हाइटीका नागरिकहरुलाई सहयोग जुटाउन बानाले आर्थिक सहयोग संकलन गरिरहेको भन्दै प्राकृतिक प्रकोपमा परेर बाँचेका हाइटीका नागरिकहरुका लागि मानवीय धर्म निर्वाह गर्दै सहयोग गर्न सबैलाई आग्रह समेत गरेकी थिइन्। बानाले आफ्नो वेभर्साईट http://www.banaonline.org तथा यसको सर्म्पर्क ठेगानामार्फ् चेक प्राप्त हुने गरी यही जनवरी ३१ तारिखसम्म हाइटी सहयोग संकलन जारी राखेको जानकारी बानाका महासचिव गौतम दाहालले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ।

http://www.janapukar.com/index.php?option=com_content&task=view&id=10660&Itemid=113